काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले न्यायालय, सुरक्षा निकाय र कर्मचारीतन्त्रप्रति पार्टीको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन् ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिमा नेपाली सेना लगायतका निकायले चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन भूमिका खेलेको आशय व्यक्त गरेका थिए ।
उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै भट्टराईले पार्टीको आधिकारिक धारणा फरक रहेको स्पष्ट पारेका हुन् । 'नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय तथा संवैधानिक निकाय र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको पूर्ण सम्मान र विश्वास छ,' उनले भने, 'संसद होस् वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष—हाम्रो यो धारणा यथावत् रहनेछ।'
उनले जनमतलाई सम्मान गर्नु नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको उल्लेख गर्दै पराजयको समीक्षा गरी कमजोरी सुधार्नु पार्टीको कर्तव्य भएको बताए।
'जनताले दिएको मतलाई स्वीकार गर्दै आत्मसमीक्षा गरेर पुनः जनविश्वास आर्जन गर्नु नै जबजको मर्म हो,' भट्टराईले भने ।