Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाको भिडिओ सन्देश- मलाई कुनै पदको लोभ छैन, पार्टी एकताको पक्षमा शान्त आवाज उठाइरहन्छु

शेखर कोइरालाको भिडिओ सन्देश- मलाई कुनै पदको लोभ छैन, पार्टी एकताको पक्षमा शान्त आवाज उठाइरहन्छु

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको बताएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटनको तयारी भइरहँदाकोइरालाले पार्टी पंक्तिमाझ भिडिओ सन्देशमार्फत आफू पार्टी विभाजनको पक्षमा नभएको भन्दै आफ्नो भनाइ सार्वजनिक गरेका हुन् ।

कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दाबी गरेका छन्।

उनले भनेका छन्- 'म यहाँ प्रस्ट भन्न चाहन्छु, मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्। मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ। मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर। म ती सबै सहेर पनि अन्तिम सम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहने छु।'

अहिले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नुपरेको र अर्कोतिर ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरिरहेको उनले बताए।

उनले थप भनेका छन्- म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिह्नबाट विचलित हुने छैन।

उनले बीपी, सुवर्णशमशेर, गणेशमान, किसुनजी, गिरिजाप्रसाद र सुशील कोइराला लगायतका अग्रज नेताहरूले छाडेको पदचिह्नबाट आफू विचलित नहुने बताए।

(पुर्णपाठ )

आदरणीय साथीहरू,

आज देश आसन्न निर्वाचनको संघारमा छ। जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार (सुशीला कार्कीको सरकार भनिएको) गठन भएको केही महिना मात्र भएको छ। यस क्रममा संविधान सभाबाट जारी भएको नेपालको संविधान यतिखेर क्षतविक्षत भएको अवस्थामा छ।

आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरूले देशको संविधान नेपाली जनताले लेख्छन् भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो। यो गौरवशाली इतिहासको शृङ्खलाले अनेकन् कष्ट, यातना र बलिदान भोग्दै, निरंकुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौम सत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो।

यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान, जुन नेपालको मूल कानुन हो, त्यसलाई भावी निर्वाचन मार्फत बचाउने प्रयत्न गरिरहेका छौं। हामी भाद्र २४ गतेदेखि २७ गतेसम्म घटित अन्योल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सन सक्छौं र? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने असहज अवस्था आइपर्‍यो।

हाम्रो यस किसिमको अवस्थाको पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा सहिदहरू प्रति न्याय गरेको ठहर्छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रको लागि बलिदान, संघर्ष र यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौं?

हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी वर्ग, कानुनविद्, पत्रकार साथीहरू लगायत सबैलाई देशको मूल कानुनको महत्त्व र कांग्रेसका साथीहरूलाई समेत संविधानहीनताको अवस्था बारे मैले भनिरहनु नपर्ला। म भन्दा यहाँहरू धेरै मर्मज्ञ हुनुहुन्छ। जनआन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरूको नेतृत्व बारे नागरिक तहबाट र पार्टी भित्रबाट पनि बहस, छलफल र दबाबहरू सुरु हुनु स्वाभाविक थियो, र भयो। राजनीतिक दलहरूको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली कांग्रेस भित्र संगठित प्रयत्नहरू अगाडि आए।

नेपाली कांग्रेसको विधानको विकासक्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन् प्रावधानहरू राखिएका छन्। नेपालको संविधान झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो। यसको श्रेय निःसन्देह पुरानो पुस्ताहरूलाई दिनुपर्छ। यही कारण आज नेपाली कांग्रेसको पदाधिकारी देखि केन्द्रीय कार्यसमितिमा पनि युवाहरूको सहभागिता रह्यो।

कांग्रेसको वैधानिक विकास क्रम हाम्रा श्रद्धेय नेता बिपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ। कसैप्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात् गरेर कांग्रेस भित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरू मसँग जोडिए। म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहेँ।

मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु— मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु।

यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्। मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ।

मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर। म ती सबै सहेर पनि अन्तिम सम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहने छु। बिपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन। न कांग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बिपीको अन्तरआत्माको आवाज थियो।

यो नेपाली जनको आवाज थियो। म एक्लो भए पनि बिपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिह्नबाट विचलित हुने छैन। यो पदचिह्न भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो, जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए। के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र? सोचौँ हामी।

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ। तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु।

मेरो दृढ विश्वास छ, एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ र यो ‘जय नेपाल’ को नाराको गुञ्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ।

जय नेपाल।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077