काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्पूर्ण प्रदेश प्रमुख तथा प्रहरी कर्मचारीहरुलाई निर्वाचन सुरक्षामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् ।
आईजीपी कार्कीले आगामी निर्वाचनको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुलगायत प्रहरी गतिविधि र कामकाजका सम्बन्धमा सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट भर्चुअल बैठकद्वारा निर्देशन दिएका हुन् ।
उनले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी सबै प्रहरी कर्मचारीहरूले आआफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू , जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो ।

यस्तै आईजीपी कार्कीले आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न तथा आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए ।