काठमाडौं । नेपाली प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताएका छन् ।
आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जटिल भू–गोलसँगै जथाभाबी निर्माण गरिएका सडक संरचना र कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम बढाएको स्पष्ट पारेका हुन्।
उनले भने- 'नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसो तसो निर्माण भएका ठूला साना सडकहरुमा सवारी साधन चलेका छन् जहाँ अहिले एभरेजमा दिनमा आठ जनाको मृत्यु हुने अवस्था छ । यस सन्दर्भमा सवारी दुर्घटनाका विविध कारणहरुमध्ये इन्जिनियरिङको विषय पनि सम्बोधन हुनुपर्छ । गाउ गाउमा वडा अध्यक्ष,अध्यक्षहरुले इच्छा गरेर बनाइएका सडकहरु गाउँगाउँ जथाभावी डोजरे क्रान्ति गरिएका बाटाहरुको कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ । ति बाटाहरु इन्जिनियरिङ हिसावले ति ठिक छन् ।'
नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुस्खद् बन्दै गएको भन्दै दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको आईजीपी कार्कीको भनाइ थियो ।
उनले स्थानीय तहदेखि विभिन्न निकायसम्मको समन्वयबिना बनाइएका ग्रामीण सडकहरू, ‘डोजर क्रान्ति’का नाममा जथाभाबी खोलिएका बाटाहरू र कमजोर प्राविधिक मापदण्डले दुर्घटनामा योगदान पुर्याइरहेको बताए। यस्ता संरचनालाई इन्जिनियरिङ दृष्टिकोणबाट पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
कार्कीले जलवायु परिवर्तनका कारण उत्पन्न बाढी र पहिरो जस्ता विपद्ले पनि सडक सुरक्षा चुनौती बढाएको उल्लेख गर्दै विकास निर्माणका मोडेलबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।
उनका अनुसार सवारी दुर्घटना राज्य, यातायात व्यवसायी, श्रमिक संगठन तथा आम नागरिक सबैको साझा सरोकारको विषय भएकाले यसको न्यूनीकरणका लागि सामूहिक जिम्मेवारी आवश्यक छ।