बारा । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले प्रहरी कार्यालयमा सेवाका लागि आउने नागरिकलाई दुःख दिने भन्दा पनि छिटोछरितो सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै आईजीपी कार्कीले न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन समेत निर्देशन दिए ।
पीडितलाई न्याय दिन प्रहरी कर्मचारी आफै जिम्मेवार भएर लाग्न निर्देशन दिंदै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको बताए ।
सम्बोधनका क्रममा तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका उनले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
उनले भने–‘घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला । त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारवाही हुन्छ । त्यसैले कारवाहीको भागेदार हुने काम नगर्नु । तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु ।’
कार्कीले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए । सम्बोधनका क्रममा उनले लागूऔषध समाजको मुख्य समस्याका रहेको बताए । लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिका कारण सिंगो समाज पीडित हुन नहुने उल्लेख गर्दै कार्कीले ओसारपसार र बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।
उनले भने–‘लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ । ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन् । यसलाई नियन्त्रण गर्नुको विकल्प छैन । यसविरुद्ध निर्मम भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
सभ्य र सुरक्षित समाज निर्माणमा सबैको सामूहिक प्रयास तथा सहकार्य आवश्यक रहेको चर्चा गर्दै उनले नागरिकबाट प्राप्त साथ, सहयोग, समर्थन र सद्भावले प्रहरीलाई अझ उत्प्रेरित भई कार्य गर्न ऊर्जा प्राप्त भएको बताए ।
UNOPS को सहयोगमा कुल २ करोड १ लाख ७४ हजार ४ सय ६ रूपैयाँ ५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।