काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा राष्ट्रिय मेलमिलाप नीतिको महत्व झनै बढेर गएको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना दिँदै कोइरालाले यस्तो बताएका हुन् । उनले विसं २०३३ सालमा बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू स्वदेश फर्किएर सुरु गरेको राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
डा। कोइरालाका अनुसार त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूबीचको द्वन्द्व र खिचातानीका बीच नेपालजस्तो सानो र भूराजनीतिक रूपमा संवेदनशील देशको राष्ट्रियता र स्वतन्त्रता जोगाउन राष्ट्रिय एकता र मेलमिलापको विकल्प नरहेको बीपी कोइरालाको स्पष्ट सन्देश थियो।
'पाँच दशकपछि फेरि विश्व राजनीतिमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएका छन् । यस्तो अवस्थामा बीपीको विचारलाई फेरि एकपटक गम्भीर रूपमा मनन गर्नुपर्ने अवस्था आएको छ,' डा. कोइरालाले भने ।
उनले राष्ट्रिय एकता र मेलमिलापका लागि आज सत्ता राजनीतिभन्दा माथि उठेर सम्पूर्ण सार्वभौम नेपालीहरू जागरुक, सतर्क र ऐक्यवद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
वर्तमान चुनौतीहरू कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रसँग जोडिएको विषय भएको उनको धारणा छ। डा. कोइरालाले कांग्रेसभित्रको एकता र मेलमिलाप नै राष्ट्रिय एकताको पहिलो खुड्किलो भएको उल्लेख गर्दै पार्टी पंक्तिलाई त्यस दिशामा अघि बढ्न आह्वान गरेका छन्।