काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तिरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेड पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको मिति नै तोकेर भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
ठूला भनिएका राजनीतिक दलहरुले तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताउँदै आएपनि सरकारले भने निर्वाचन कार्यतालिका अनुसार काम गरिरहेको छ ।
जसअनुसार निर्वाचन आयोगले सोमबारसम्म समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउन समय सिमा तोकेको थियो । आयोगको समयसिममामा ६० भन्दा बढी राजनीतिक दलहरुले बन्दसूची पेश गरिसकेका छन् ।
तर, राजनीतिक दलले पेश गरेको बन्दसूचीमा नेताका आसेपासे र धनाढ्य व्यापारीका सन्तानहरु परेको भन्दै त्यसको विरोध सुरु भइसकेको छ । पछिल्लो समय जनताको मन जित्न सफल रवि लामिछानेले पार्टी निर्माण गरेको एक वर्ष पनि पूरा नहुँदै प्रतिनिधिसभामा २० सिट जिताएका थिए ।
त्यसपछि सरकारमा सामेल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक विवादमा फस्दा मुकुल ढकाल, सुमना श्रेष्ठ, सन्तोष परियारलगायतले पार्टी नै परित्याग गरे ।
त्यतिमात्रै होइन पटक–पटक विवादमा तानिएका पार्टी सभापति रवि लामिछाने त जेल नै जानुपर्यो । कहिले नागरिकता प्रकरण र कहिले सहकारी ठगी प्रकरणमा मुछिए उनी ।
सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भएका लामिछाने यतिबेला जेनजीको माग सम्बोधन गर्न भन्दै नयाँ अनुहारहरुसँग साँठगाँठ गरिरहेका छन् ।
त्यसकै फलस्वरुप लामिछानेले चर्चित पात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र दैनिक १८ घण्टाको लोडसेडिङ हटाएर वाहीवाही पाएका हालका उर्जामन्त्री कुलमान घिसिङसँग एकता गरिसकेका छन् ।
घिसिङले भर्खरै मात्रै घोषणा गरेको उज्यालो नेपाल पार्टी रास्वपासँग एकीकरण भएको छ भने बालेन पनि विभिन्न शर्तसहित प्रधानमन्त्री बन्ने आशमा राविसँग जोडिएका छन् ।
तर, जनताले रुचाएका व्यक्तिहरु बालेन, कुलमान र रवि मिलेर बनेको रास्वपा विवादमा पर्न थालिसकेको छ । रास्वपाले पेश गरेको बन्दसूचीमा नेताका आसेपासे र धनाढ्य व्यापारीका सन्तानहरु परेको भन्दै त्यसको विरोध सुरु भइसकेको छ ।
सामाजिक अभियान्ता आसिका तामाङले पनि त्यसको विरोध गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपाको समानुपातिक सूचीको विरोध गरेकी हुन् ।
उनले फेसबुकमार्फत–‘समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुका लाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोराछोरी सांसद र मन्त्री हुने भए । नेपोकिड्स (nepokids) विरुद्धको ७३ जना जेनजी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् ।
नेपालको संविधानले पनि समानुपातिक निर्वाचन प्रणाली मार्फत विशेषगरी उपेक्षिति, उत्पीडित, वर्ग समुदाय र लिंगबाट प्रतिनिधित्व गराउने उद्देश्य राखेको छ ।
तर, यो व्यवस्थालाई तत्कालिन दलहरुले आफ्ना श्रीमती, छोरी र नातेदारलाई नियुक्त गरेर खल्ली मात्रै उडाएनन् बद्नाम बनाइदिए । फलस्वरुप अहिले यो प्रणालीबाट सांसद भएकाहरु आलोचनाको केन्द्रमा मात्रै परेका छैनन् जेनजी आन्दोलनलाई पनि यसकैको नतिजाको रुपमा लिन सकिन्छ ।
जेनजी आन्दोलनपछि बनेको सरकारमा पनि व्यापारिक घराना जोडिएको भन्दै त्यसको विराध हुँदै आएको छ । एउटा व्यापारीक घरानासँग जोडिएका व्यक्तिलाई श्रम मन्त्री बनाइएको भन्दै जेनजीकै एउटा समूहले विरोध गरिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमइ ग्रुपसँग जोडिएका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी अहिले श्रममन्त्री छन् ।
भण्डारी तिनै व्यक्ति हुन्, जो आईएमइ ग्रुपद्वारा सञ्चालित आइजीआई पुडेन्सियल इन्स्योरेन्सका संचालक छन् । व्यापारी ढकाल निकट व्यक्तिलाई मन्त्री बनाएको भनेर विरोध भइरहँदा ढकालका छोरा रास्वपाको समानुपातीक सूचीमा अटाएका छन् ।
अहिले जेनजी आन्दोलनका अगुवाले साथ दिएको रास्वपाको समानुपातिक सूचीमा नेपो किड्सको बिगबिगी देखिएको छ ।
चन्द्र ढकालका छोरा सचिन ढकाल समानुपातिक सूचीमा छन् । उनी खस आर्यतर्फ सहमहामन्त्री विपिनकुमार आचार्यपछि दोस्रो नम्बरमा परेका छन् । उनी बालेनको कोटाबाट समानुपातिकमा परेका हुन् ।
चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुन् । कुनै राजनीतिक पृष्ठभूमि नभएका ढकाल सिधै दोस्रो नम्बरमा कसरी परे ? रास्वपा नेताहरूले प्रश्न उठाएका छन् ।
आईएमई ग्रुपको हस्पिटलिटि क्षेत्र सम्हाल्दै आएका सचिनको समानुपातिक सुचीमा नाम समावेश भएपछि बालेन समूहमा समेत सांसद किनबेचको आशंका मात्रै गरिएको छैन विरोध समेत सुरु भएको छ ।
पूर्वराजदूत भीमकृष्ण उदासकी छोरी सुम्निता उदास पनि समानुपातिक सूचीमा छन् । उनी आदिवासी जनजाति महिलातर्फको तेस्रो नम्बरमा छिन् ।
यस्तै, यसअघि रास्वपाबाट समानुपातिक सांसद भइसकेका असीम शाहका दाजु आसिफ शाह पनि समानुपातिक सूचीमा मुस्लिम कोटाको एक नम्बरमा समावेश छन् । रवि र बालेनको पटक-पटकको छलफल शाहकै घरमा भएको थियो ।
समानुपातिक सूचीमा उपसभापति कुलमान घिसिङका भाञ्जा पनि परेका छन् । आदिवासी जनजातिको एक नम्बरमै उनको नाम देखिन्छ । डा. राम लामा र घिसिङ सम्बन्धले मामा भाञ्जा रहेको स्रोतको बताउँछ ।
त्यसो त सुरक्षा निकायहरुमा ठेक्काट्टको काम गर्दै आएका विचौलिया दिपक भट्टलाई काउन्टर दिन ढकालले नै छोरालाई राजनीतिमा प्रवेश गराएको चन्द्र ढकाल निकट स्रोत बताउँछ । भट्ट र ढकालबीच बर्षौदेखि व्यापारिक द्वन्द्व रहँदै आएको छ ।
विचौलियाको उपमा पाएका भट्ट ठेकेदार मात्रै होइनन्, जेजनी आन्दोलन अघिसम्म जुनसुकै सरकार आएपनि उनकै राजगज चल्ने गरेको यथार्थ छर्लङ्गै छ । यता ढकाल भने आईएमइ ग्रुप अन्तर्गत रहेर विजनेश सम्हालिरहेका छन् ।
कार्गो कम्पनीबाट व्यवसायमा हात हालेका ढकालले आइएमई ग्रुपको अगुवाईमा दर्जन बढी क्षेत्रमा लगानी गरेका छन् । राजनीतिक नेतृत्वसँग निकट सम्बन्धमा बस्न रुचाउने र कर्मचारी रिझाउन सिपालु ढकालले आफ्ना सबै जसो कम्पनीहरुलाई पब्लिक लिमिटेड बनाएर पुँजी बजारमा सूचिकृत गराउने अभियान चलाईरहेका छन् ।