काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच शुक्रबार भएको छलफलबाट सहकार्यमा टुंगो लागेन ।
बिहानदेखि रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाहबीच संवाद भए पनि शुक्रबार अबेरसम्म ठोस सहमति नबनेको हो ।
भोलि फेरि छलफल हुने र त्यसपछि मात्र रवि र बालेन प्रत्यक्ष एक ठाउँमा बस्ने बताइएको छ । अहिलेसम्मका छलफल सकारात्मक रहेको दुवै पक्षले दाबी गरेका छन् ।
दिउँसो दुवै पक्षका नेताहरूले सहकार्यको पहिलो खाका तयार पारे पनि त्यसलाई अन्तिम रूप दिन नसकिएको बताइएको छ ।
हालसम्मको समझदारीअनुसार रास्वपाको सभापतिमा रवि लामिछाने नै रहने र आगामी निर्वाचनपछि संसद्मा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह हुने प्रस्ताव अघि सारिएको छ ।
यसमा सभापति लामिछाने तयार देखिए पनि अन्य विषयमा अझै सहमति जुट्न बाँकी रहेको जनाइएको छ ।