काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न जाँदै छन् ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि परामर्श गर्न लेखक आज महाराजगञ्जस्थित देउवा निवास जान लागेका हुन् ।
लेखकलाई छलफलका लागि बोलाइएको महाराजगञ्ज स्रोतले जनाएको छ । तर, समय भने खुलाइएको छैन ।
यसअघि लेखकले आयोगले बयान दिन बोलाएको विषयमा ‘सल्लाह’ गरिरहेको बताएका थिए ।
विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको थियो ।
आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।
लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।