काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छन्।
एमालेका पूर्व उपाध्यक्षसमेत रहेकी उनले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन्।
'यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति पनि हार्दिक धन्यवाद, लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउँछ । निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु', पूर्वराष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा भनिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको यो सन्देशले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया र नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गरेको छ ।