काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका घिमिरेको उम्मेदवारीलाई पार्टीभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ ।
तिलोत्तमा नगरपालिकालाई ‘नमूना’ बनाउन उनले चालेका कदम, संसदमा उठाएका जनसरोकारका विषय र पार्टीको केन्द्रीय कमिटीमा पुगेर खेल्न सक्ने भूमिकाका आधारमा उहाँको दाबीलाई पार्टी वृत्तमा बलियो मानिएको छ ।
घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि तिलोत्तमा नगरपालिकालाई ‘विकासको मोडल’ का रूपमा स्थापित गर्न सफल भएका थिए ।
उनले चलाएका अभियानले तिलोत्तमालाई मुलुकभर वातावरणमैत्री सुन्दर शहरको रूपमा चिनाउन सफल भएको छ ।
प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही–५ बाट विजयी भएपछि घिमिरेले संघीय संसदमा जनजीविका र राष्ट्रिय महत्वका विषयहरूलाई निरन्तर उठान गरेका थिए ।
भ्रष्टाचार नियन्त्रण र सुशासन, रोजगारी र उत्पादन, वैदेशिक रोजगारीको विकल्प, उद्योग र निजी क्षेत्रको संरक्षण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन, श्रम संस्कृतिको विकास लगायतका विषयमा उनले निरन्तर आवाज उठाएका थिए ।
पार्टी काममा तीन दशकदेखि क्रियाशील घिमिरे हाल पार्टीको स्थानीय विभाग सदस्य र लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । महाधिवेशन प्रतिनिधि निर्वाचनमा पनि उनले लोकप्रिय मत ल्याएका थिए ।
उनी पार्टीको केन्द्रीय कमिटीमा पुग्दा पार्टीको स्थानीय तह परिचालन र विकासको नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने कार्यकर्ताहरुको बुझाइ छ ।
रुपन्देही–५ मा तीन पटक जितेका सांसदलाई भारी मतले पराजित गरी निर्वाचित भएकाले घिमिरेलाई लोकप्रिय र स्थापित नेताको रुपमा लिने गरिन्छ ।
घिमिरेको राजनीतिक यात्रा स्थानीय तहमा उत्कृष्ट कार्यसम्पादन र संघीय संसदमा जनसरोकारका विषयको वकालतका लागि चिनिएको छ ।
उनको यही अनुभव, भिजन र कार्यक्षमताले नेकपा एमालेको केन्द्रीय कमिटीलाई थप सशक्त र जनमुखी बनाउन योगदान दिन सक्ने कार्यकर्ताहरु बताउँछन् ।