काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको तयारी चलिरहँदा अध्यक्ष केपी शर्मा ओली प्यानलमा हेरफेर भएको छ ।
पार्टी सचिव लेखराज भट्टले फेरि सचिव पदमा उम्मेदवारी दिन अस्वीकार गरेपछि ओली पक्षले उम्मेदवारको सूची संशोधन गरेको हो ।
अध्यक्ष ओली प्यानलमा सचिवका रूपमा भट्टको नाम तय गरिएको थियो । तर, भट्टले पुनः सचिव नबन्ने अडान लिँदै उपमहासचिव पदमा उम्मेदवारी दिन लागेका हुन् ।
भट्टको अस्वीकारसँगै ओली प्यानलमा पद बाँडफाँड फेरबदल भएको छ । अब यसअघि सचिव रहेका भट्टलाई उपमहासचिवमा अघि सारिएको छ भने उपमहासचिवमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारिएको छ ।
यो परिवर्तनलाई ओली प्यानलभित्र शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ । महाधिवेशनमार्फत एमालेको नयाँ नेतृत्व चयन हुने क्रममा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।