काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन आयोगमार्फत उम्मेदवारी दर्ता र अन्य चुनावी गतिविधि अघि बढिरहेका हुन् ।
एमाले निर्वाचन आयोगले विभिन्न पदका लागि उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। आयोगका अनुसार पार्टी अध्यक्ष पदका उम्मेदवारले प्रतिउम्मेदवारी १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
यस्तै, केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी शुल्क १० हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्य बन्न इच्छुक उम्मेदवारले पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय आयोगतर्फ पनि शुल्क निर्धारण गरिएको छ। केन्द्रीय आयोग अध्यक्षको उम्मेदवारी शुल्क १० हजार रुपैयाँ कायम गरिएको छ भने आयोगका पदाधिकारी तथा सदस्यका लागि पाँच हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको एमाले निर्वाचन आयोगले जनाएको छ।
महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।