Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानलाई बैगुनीको संज्ञा दिँदै प्रचण्डले भने - जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजे

कुलमानलाई बैगुनीको संज्ञा दिँदै प्रचण्डले भने - जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजे

शनिवार , मंसिर २७, २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभा लाई सम्बोधन गर्दै उनले घिसिङलाई ‘बैगुनी’ को संज्ञा दिँदै लोडसेडिङ अन्त्यको श्रेय एक्लै लिन खोजेको आरोप लगाएका हुन् ।

आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालको प्रसङ्ग उठाउँदै प्रचण्डले लोडसेडिङबाट आक्रान्त मुलुकलाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक निर्णय सरकारकै नेतृत्वमा भएको दाबी गरे । 'लोडसेडिङमुक्त नेपाल बनाउने काम हामीले नै पूरा गरेका हौँ, यसलाई नराम्रो भन्न कसैले सक्दैन,' उनले भने।

कुलमान घिसिङप्रति आक्रामक शैलीमा प्रस्तुत हुँदै प्रचण्डले थपे, 'अहिले कुलमान घिसिङले कुन विष खाएर, जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजिरहेका छन्। तिनले त्यसो नगरून्, बुद्धि फिरोस् भन्न चाहन्छु।'

उनले घिसिङलाई प्राधिकरणमा आफूले नै नियुक्त गरेको दाबी पनि गरे। 'दुई–दुई पटक प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएर यो मान्छे राम्रो छ भनेर बनाएको हुँ। पहिला–पहिला प्रचण्डले नै मलाई बनाएको भनेर भन्ने मान्छेले आज सबै बिर्सेर यस्तो बोल्नु लाजमर्दो कुरा हो,' भन्दै उनले कटाक्ष गरे।

लोडसेडिङ हटाउन आफ्नो क्षमतामात्रै निर्णायक भएको भन्ने घिसिङको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले कडा चेतावनी पनि दिए।

'यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्। नेपाली जनताले पनि यस्तो व्यवहारलाई धेरै माफी दिने छैनन्,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077