भक्तपुर । भक्तपुरको सल्लाघारीमा आज हुन लागेको नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सतर्कता अपनाएको छ ।
उद्घाटन स्थल र आसपासका क्षेत्रहरूमा बम डिटेक्टर उपकरणसहित विशेष तालिमप्राप्त कुकुरहरूको टोली परिचालन गरिएको छ।
विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउन सक्ने कुकुरहरूले समारोह स्थलका प्रमुख स्थानहरूमा सघन जाँच गरेका छन्।
नेपाल प्रहरीका अनुसार उच्चस्तरीय राजनीतिक नेतृत्व, प्रतिनिधि तथा ठूलो संख्यामा सहभागीहरूको उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा जोखिम न्यूनीकरणका लागि पूर्वतयारीस्वरूप यो जाँच गरिएको हो।
स्थल प्रवेश बिन्दुहरूमा कडाइका साथ जाँच, निगरानी टोलीको परिचालन र सादा पोशाकका सुरक्षाकर्मीसमेत तैनाथ गरिएको छ।
प्रहरीले महाधिवेशनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने लक्ष्यका साथ सम्पूर्ण सुरक्षा संयन्त्र सक्रिय बनाएको जनाएको छ।