काठमाडौं । नेपाल प्रहरीमा डीआइजीको एक र एसएसपीको तीन दरबन्दी थप्न अर्थ मन्त्रालयले स्वीकृती दिएको छ।
प्रहरी प्रधान कार्यालयले अघि बढाएको संगठत तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) अनुसार दरबन्दी थप हुन लागेको हो।
केही अनावश्यक दरबन्दी कटौती गरी मिलान गर्न लागिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार मानव स्रोत विकास विभागमा डीआइजीको दरबन्दी थप हुन लागेको छ। हाल सो विभागमा डीआइजीको दरबन्दी छैन । एआइजी नभएको अवस्थामा एसएसपी निमित्त प्रमुख हुने भएपछि समस्या हुँदै आएको छ ।
त्यस्तै, एसएसपीका पनि तीन दरबन्दी थप हुने भएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, प्रहरी अस्पताल र कानून शाखामा एसएसपी राख्न लागिएको हो।
प्रहरी महानिरीक्षकको सचिवालयमा एसएसपीको दरबन्दी नभएपछि काजमा खटाउने गरिएको छ । त्यस्तै, कानून शाखालाई महाशाखा बनाएर एसएसपी राख्न लागिएको छ ।
नयाँ ओएण्डएम सर्वेक्षणअनुसार एसपीका पनि केही दरबन्दी थप हुने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार एक साताभित्रै नयाँ ओएण्डएम स्वीकृत गर्न लागिएको छ। त्यसपछि रिक्त हुने पदमा बढुवा हुनेछ।
यो स्वीकृती भएसँगै प्रहरीमा डीआइजीको एक पद रिक्त हुनेछ। जसमा बढुवाका लागि शारदा चौधरी, सोमेन्द्रसिंह राठौर, दिपशमशेर जबरा, गंगा पन्त लगायत प्रतिस्पर्धामा छन्।
त्यस्तै, एसएसपीका हाल ६ पद रिक्त रहेकोमा अब १० पदमा बढुवा हुने भएको छ।