काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा देखिएका त्रुटि सच्याउन तथा आवश्यक परिवर्तन गर्न चाहने मतदाताले यही मंसिर २६ गतेभित्र निवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।
दाबी–विरोध प्रक्रिया चलिरहेको समयमा आयोगले सार्वजनिक सूचना जारी गर्दै मतदातालाई सो जानकारी गराएको हो ।
आयोगका अनुसार नामावली अद्यावधिक कार्यक्रममा नाम हटाउने, दाबी–विरोध दर्ता गर्ने तथा व्यक्तिगत विवरणमा देखिएका त्रुटि सच्याउने कामसँगै अब एउटै वडाभित्र रहेको कुनै पनि मतदानस्थलबाट आफूलाई सहज हुने अर्को मतदानस्थलमा नाम सार्न पनि निवेदन दिन सकिनेछ।
पुनरावलोकनको क्रममा कसैको नाम सम्बन्धित मतदानस्थलमा नपरेको वा छुट भएको अवस्थामा पनि सोही समयमा समावेश गर्न सकिने आयोगले जनाएको छ।
मतदाताले आफ्नो नाम वडाभित्रकै अर्को मतदानस्थलमा सार्न चाहेमा सम्बन्धित जिल्ला/निर्वाचन कार्यालयमा सिधै उपस्थित भएर वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन पेश गर्न आग्रह गरिएको छ।