काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणको प्रक्रिया अघि बढाउँदै आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।
लामो समयदेखि रोकिएको विधेयकलाई अघि बढाउने तयारीस्वरूप आयोगले दलहरूलाई छलफलमा बोलाएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजेबाट सुरु हुनेछ । बैठकमा निर्वाचन प्रणाली, राजनीतिक दलसम्बन्धी व्यवस्था तथा कानुनी सुधारका विषयमा दलहरूको धारणा लिइने बताइएको छ ।
निर्वाचन आयोगले सातवटा अलग–अलग ऐनलाई एकीकृत गर्दै तयार पारेको विधेयकको मस्यौदा २०८० असार १८ गते नै सरकारलाई पठाएको थियो। तर उक्त मस्यौदा लामो समयसम्म गृह मन्त्रालयमै रोकिएको थियो।
यसबीच केही बुँदामा परिमार्जनको गृहकार्यसमेत भए पनि संसद् विघटनपछि गृह मन्त्रालयले विधेयक पुनः आयोगमै फिर्ता पठाएको थियो।
त्यसपछि आयोगले संशोधित मस्यौदामा सुझाव माग्दै यही वैशाख १५ गते राजनीतिक दलहरूलाई पत्राचार गरेको थियो।
आयोगले दलहरूको सुझाव समेटेर निर्वाचन कानुनलाई समयअनुकूल, व्यवस्थित र एकीकृत बनाउने तयारी गरेको जनाएको छ। आगामी निर्वाचनलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन कानुनी सुधार आवश्यक रहेको आयोगको निष्कर्ष छ।