काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी इकाइका प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै अपराध नियन्त्रण, अनुसन्धानको गुणस्तर, राजस्व चुहावट रोकथाम तथा आसन्न निर्वाचन लक्षित सुरक्षा योजनाबारे कडा निर्देशन दिएका छन् ।
आइतबार आईजीपी कार्कीले भर्चुअल बैठकमार्फत सो निर्देशन दिएका हुन् । बैठकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
आईजीपी कार्कीले आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका छन् । साथै उनले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, प्रहरी आचरण तथा व्यवहार, नागरिक मैत्री सेवा प्रवाह लगायतका समसामयिक विषयवस्तु र प्रहरी कामकारबाही सम्बन्धमा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशील सिंह राठौरले पनि बस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धानमा जोड दिन निर्देशन दिए ।