काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। ।
अधिकारीसहित ७ जनाविरुद्धको मुद्दामा आज विशेष अदालतमा न्यायाधीहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ ।
उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।
शुक्रबार भएको थुनछेक बहसमा न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिलेकाले सुनुवाइ भएको थिएन।
सुनुवाइपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ ।