काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ६ जना र एउटा कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा बुधबार दर्ता गरेको हो ।
मुद्दा दर्ता भएका अन्यमा मुरारी भण्डारी, नरविक्रम थापा, गुरुदत्त अधिकारी, विजय थापा र समृद्धि श्रेष्ठ छन्।
अख्तियारले उनीहरूसहित अभियन्त्र कन्सल्टिङ प्रालि बानेश्वरलाई समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अधिकारीसहित चारजना प्राधिकरणका कर्मचारी हुन्। विजय थापा अभियन्त्र कन्सल्टिङ कम्पनीका निर्देशक हुन् भने गुरुदत्त अधिकारी इन्जिनियर हुन्। मुद्दा दर्ता हुनुअघि अख्तियारले उनीहरूलाई पक्राउ गरी विशेष अदालत पुर्याएको थियो।
६ जना र कम्पनीलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो तथा सजाय माग गरिएको पौडेलले बताए।
उनीहरूमाथि भक्तपुरको नलिनचोकमा रहेको हेलीपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लागेको छ।