काठमाडौं । जेनजी आन्दोलनपछि प्रहरी संगठनको मनोबल बढाउन विभिन्न विकल्पबारे छलफल चलिरहेका बेला गृह मन्त्रालयले प्रहरी कर्मचारीको रासन स्केल वृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रहरी प्रधान कार्यालयले पेस गरेको प्रस्तावलाई गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णय गरेर अर्थ मन्त्रालयसँग सहमति मागेका हुन् ।
विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको न्यूनतम पोषण मापदण्ड अनुरुप राशन स्केल परिमार्जन गर्नुपर्ने निष्कर्ष आएको र सोही आधारमा अर्थ मन्त्रालयलाई सहमति प्रदान गर्न अनुरोध गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले जानकारी दिए।
राशन स्केल अन्य सुरक्षा निकाय सरह बनाउनुपर्ने प्रहरीको प्रस्ताव छ ।
हालं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर २०१ रुपैयाँ पाउँछन् । त्यसलाई बढाएर सशस्त्र प्रहरी बल र नेपाली सेनाको सरह बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।
नेपाली सेनाका सकलदर्जाले अहिले २४ आइटम र सशस्त्र प्रहरीले १९ राशन पाउँदै आएका छन् ।
जिल्ला दररेट अनुसार राशन स्केल बढाउने विषयमा प्रहरीले तीनवटा विकल्पसहित प्रस्ताव अघि बढाएको छ।
२०७१ मा कायम गरिएको दररेटमा २०७८ मा थपिएको १५ प्रतिशत रकम प्रहरीलाई राशनबापत दिइँदै आएको छ। ढुवानी खर्च र स्थानीय लागतअनुसार फरक-फरक दररेट निर्धारण हुने व्यवस्थाअनुसार परिमार्जन गरिँदैछ।
गृह मन्त्रालयले पठाएको प्रस्ताव लागू भएमा प्रहरी कर्मचारीका लागि १९ आइटम राशन स्केल पुर्याउन करीब रु ३ अर्ब ६५ करोड अतिरिक्त आर्थिक दायित्व बढ्ने आकलन गरिएको छ।