एजेन्सी । युक्रेनमा रुसले सुरु गरेको पछिल्लो व्यापक हमलाले युद्धलाई पुनः खतरनाक मोडतर्फ धकेलेको छ ।
युक्रेनी अधिकारीका अनुसार, पछिल्ला ४८ घण्टामा रुसी सेनाले करिब ३६ वटा ब्यालिस्टिक मिसाइल र झन्डै ६०० ड्रोनमार्फत ‘स्याचुरेसन अट्याक’ गर्दै ऊर्जा तथा सैन्य पूर्वाधारलाई लक्षित गरेको हो।
हमलाबाट युक्रेनका ठूला ऊर्जा केन्द्रहरूमा गम्भीर क्षति पुगेको छ। करिब १५ लाख नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।
रुसी प्रहारपछि खेरसोन र सूमीका प्रमुख सबस्टेसन तथा ट्रान्सफर्मर स्टेशनहरू पूर्ण रूपमा नष्ट भएका छन्। ती क्षेत्रमा लामो समयसम्म विद्युत् सेवा पुनःस्थापना गर्न नसकिने स्थिति देखिएको युक्रेनी ऊर्जा मन्त्रालयले जनाएको छ।
खारकिभ सहर र समग्र क्षेत्रका अधिकांश स्थानमा बिजुली अवरुद्ध हुनुका साथै पानीका पम्पिङ स्टेसन, ट्राम, मेट्रो र अन्य सहरी संरचना बन्द भएका छन्, जसले दैनिक जीवन अस्तव्यस्त पारेको छ।
युक्रेनी सञ्चार माध्यम सस्पिल्ने र किर्भिक इन्डिपेन्डेन्ट का अनुसार, भीषण मिसाइल तथा ड्रोन प्रहारमा २० भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्। खारकिभ क्षेत्रको विल्भास्थित सैन्य आधार, सूमी र खेरसोनमा गरिएको आक्रमण विशेष विनाशकारी भएको बताइएको छ।