एजेन्सी । युक्रेन र फ्रान्सले संयुक्त रूपमा हतियार उत्पादन सुरु गर्ने सहमति गरेका छन् । उक्त निर्णय युक्रेनको राजधानी किभमा दुवै देशका रक्षा मन्त्रीबीच भएको भेटपछि सार्वजनिक गरिएको हो ।
फ्रान्स युक्रेनको प्रमुख सहयोगी राष्ट्रको रूपमा रहँदै आएको छ। रूसले करिब चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेयता फ्रान्सले युक्रेनलाई सैन्य सहायता मात्र नभई राजनीतिक समर्थन पनि निरन्तर प्रदान गर्दै आएको छ ।
किभमा भएको भेटपछि युक्रेनका रक्षामन्त्री मिखाइलो फेदोरोभले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै रक्षा उद्योगमा ‘ठूलो स्तरका संयुक्त परियोजना’ अघि बढाउने आशयपत्रमा दुवै देशबीच हस्ताक्षर भएको बताएका छन् ।
उनले भने, 'अब हामी आपूर्ति मात्र होइन, संयुक्त उत्पादन र दीर्घकालीन समाधानतर्फ अघि बढ्दैछौँ, जसले हाम्रो रक्षा क्षमता व्यवस्थित रूपमा सुदृढ बनाउनेछ।'
हालसम्म कुन प्रकारका हतियार उत्पादन गरिनेछ र कहिले उत्पादन सुरु हुनेछ भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
तर भेटका क्रममा युक्रेनलाई थप फ्रान्सेली हतियार र सैन्य उपकरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको बताइएको छ। यसमा क्षेप्यास्त्र प्रणाली, लडाकु विमान तथा हवाई प्रतिरक्षा प्रणालीहरू समावेश रहेको जनाइएको छ।
फ्रान्सकी रक्षामन्त्री क्याथरिन भोट्रिनले आइतबार सामाजिक सञ्जालमा फ्रान्स युक्रेनी जनताको साथमा रहेको र सधैं रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
फ्रान्सले गत वर्ष युक्रेनलाई दुई अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको थियो।