काठमाडौं । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिसकेको थियो ।
महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी सदस्य चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान संशोधन प्रस्तावअनुसार केन्द्रीय कमिटीको संख्या घटाइएको थियो। महाधिवेशनमा करिब २ हजार २०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।