काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।
पार्टीले महाधिवेशनका लागि गठन गरेको स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन सत्रमा ठूलो जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालनको व्यवस्था गरिएको हो । महाधिवेशनको बन्द सत्रमा करिब ५०० स्वयंसेवक खटिनेछन् ।
एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स ९एनभिएफ०ले पनि स्वयंसेवाको समन्वय गर्नेछ।
यसैबीच, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त चौरमा एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार अवलोकन गरेको छ।
उहाँका साथै एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी थिए।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी जम्मा दुई हजार ४०० प्रतिनिधि रहने छन् । महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।