बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि छनोट गर्दा सर्वसम्मतको नाममा चलखेल गरेको आरोप लगाउँदै उनले लेखेका छन्- 'आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई तथा गाउँपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ।'
लिलाधर एमालेका केन्द्रीय सदस्य हुन् भने बिना एमालेबाटै विजयी गाउँपालिका उपाध्यक्ष तथा पुजारा वडाध्यक्ष हुन् ।
पार्टी परित्याग गरेका चन्द एमालेबाट पञ्चेश्वरको अध्यक्षमा २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।
उनले लिलाधर र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई प्रतिनिधि नै बन्नबाट रोक लगाएको आरोप लगाएका छन् । उनले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि सहमतिका नाममा आफ्नो नाम हटाइएको पनि बताएका छन् ।
चन्दले थप लेखेका छन्- 'यो पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो पार्टीभित्रको निरङ्कुशताकाविरुद्ध बेलाबेला लडिरहेँ । तर, सकेनँ ।'
एमाले बैतडीले शनिबार नै १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिसकेको छ ।
'