धादिङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई फेरि प्रधानमन्त्री बन्ने कुनै व्यक्तिगत इच्छा नरहेको बताएका छन् ।
बुधबार धादिङको बेनिघाट–रोराङ गाउँपालिकामा नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जनताको सेवा नै आफ्नो मूल ध्येय भएको बताएका हुन् ।
नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि दाहाललाई पुनः प्रधानमन्त्री देख्न चाहेको अभिव्यक्ति दिएपछि उनले सो धारणा पारे ।
'मलाई प्रधानमन्त्री भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने लागेको छैन,' प्रचण्डले भने, 'प्रधानमन्त्री बन्ने त्यस्तो रुचि पनि छैन, त्यसका लागि मरिहत्ते गर्ने स्वभाव त झनै छैन। तर देशले माग्यो, जनताले भने भने जिम्मेवारीबाट कहिल्यै पन्छिँदैन।'
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले ऐतिहासिक परिवर्तनदेखि स्थानीय विकाससम्ममा दाहालको भूमिकाको प्रशंसा गरेपछि दाहाल केही भावुक बने।
'मलाई भगवान नठानिदिनुस्,' उनले भने, 'म किसान–मजदुरको छोरा हुँ, जनताको सेवाका लागि समर्पित एउटा सेवक मात्र हुँ।'
देशभरका शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोग र भदौ २३–२४ का घटनाले ‘राज्यविहीनता’ जस्तै वातावरण सिर्जित भएको दाहालले उल्लेख गरे। राज्यको लापरबाहीका कारण ठूलो मानवीय तथा मनोवैज्ञानिक क्षति भएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे ।
दाहालले सरकारमा रहँदादेखि नै बुढीगण्डकी जलविद्युत आयोजना–जस्तो राष्ट्रिय गौरवका परियोजनालाई अघि बढाउन आफू सक्रिय रहेको स्मरण गरे।
'सरकारमा हुँ कि छैन, बुढीगण्डकीलाई अघि बढाउन म निरन्तर लागिरहनेछु,' उनले स्थानीयहरूसँग प्रतिवद्धता जनाए । ‘बेरुजुविहीन’ परिचालन र उच्च कार्यक्षमता देखाएको भन्दै दाहालले गाउँपालिका अध्यक्ष थपलिया र स्थानीय बासिन्दाको खुलेर प्रशंसा गरे ।