काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयबीच सहमति जुटाउन बैठक चलिरहेको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि सहमति जुटाउनको लागि खड्काले पार्टीका नेताहरूसँग निरन्तर छलफल थालेका हुन् । महामन्त्रीद्वयसँग अहिले छलफल जारी छ । १५ औँ महाधिवेशनबारे निर्णय लिनको लागि भोलि केन्द्रीय समिति बैठक बस्दै छ ।
महामन्त्रीद्वयले पुसभित्रमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर संस्थापन पक्षका नेताहरू चुनावअघि कुनै महाधिवेशन गर्न नसक्ने पक्षमा छन् ।
भोलिको बैठकअघि महाधिवेशनबारे मध्यमार्गी प्रस्ताव ल्याएर सहमति जुटाउने भन्दै कार्यवाहक सभापति खड्का छलफलमा रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।
खड्काले हिजो पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक टुङ्गिन नसक्दा खड्कामाथि चर्को दबाब छ ।
कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।