काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो।
फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इन्चार्जबाट पदमुक्त गरिएको हो ।
प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय पनि भएको छ ।
सचिवालय बैठकको निर्णयमा भनिएको छ- 'प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।'
अब नयाँ प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।
रास्वपाले गत वैशाखमा सातै प्रदेशका इन्चार्ज तोकेको थियो । कोशीमा सन्तोष परियार, मधेसमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएको थियो ।
कोशी इञ्चार्जको जिम्मेवारीमा रहेका परियारले भने यसअघि नै रास्वपा परित्याग गरिसकेका छन् ।