काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन स्थल सार्नेगरी छलफल अघि बढाएको छ ।
टुँडिखेलको खुलामञ्च वा भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन कार्यक्रम राख्ने तयारी गरिरहेको एमालेले पछिल्ला दिनमा भक्तपुरको सल्लाघारीमा गर्नेगरी छलफल अघि बढाएको हो ।
बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन् ।
उद्घाटन सल्लाघारीमा गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ ।
एमालेको ११ औँ महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ ।
त्यसैगरी एमालेले महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पस् समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको छ । गौतमले पार्टीले संवैधानिक हिसाबले अध्यावधिक गर्न निर्वाचन आयोगमा दल दर्ता गरिसकेको र यो नियमित प्रक्रिया भएको स्पष्ट पारे ।
बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नयाँ लोगोको विषयमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।