काठमाडौं । नेकपा एमालेले काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ ।
प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज बागमती प्रदेश कमिटीले शान्तिपूर्ण जनप्रदर्शन गरेको हो ।
एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको हो ।
भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा वडा, पालिका, जिल्ला तहबाट जनपरिचालन कार्यक्रम गरिसकेको छ ।
एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ ।
प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुनेछ । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।