काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १० देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिएर आधुनिक ‘स्पोर्ट्स पार्क’ निर्माणको तयारी थालेको छ ।
सार्वजनिक जग्गालाई सर्वसाधारणको पहुँचमा ल्याउने अभियानअन्तर्गत महानगरले यो योजनालाई प्राथमिकताका साथ अघि बढाएको हो ।
५ रोपनी १० आना २ दाम क्षेत्रफलमा फैलिएको जग्गा व्यक्तिगत रूपमा उपयोग हुँदै आएको थाहा पाएपछि २०८० साउन ४ गते महानगर प्रहरीले उक्त क्षेत्र अतिक्रमणमुक्त बनाएको थियो ।
महानगरका मेयर बालेन शाहका अनुसार पूर्वमन्त्री भद्राकुमारी घलेले आफ्नै प्रयोजनमा प्रयोग गरिरहेको जग्गा फिर्ता गर्न सहर्ष सहयोग गरेकी थिइन् ।
'उहाँले संरचना भत्काउन सहयोग गर्नुभयो। उहाँका सामान स्थानान्तरणमा महानगर प्रहरी बलले पनि साथ दियो,' मेयर शाहले भने ।
अतिक्रमणमुक्त गरिएको २ हजार ८८० वर्गमिटर क्षेत्रफलमा अब आधुनिक ‘स्पोर्ट्स पार्क’ निर्माण गरिने महानगरले जनाएको छ। लगभग १ करोड ९० लाख रूपैयाँ (भ्याट र पीएस बाहेक) लागतमा बन्ने यो पार्क २०८३ कार्तिक १८ गतेभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ।
महानगरका अनुसार पार्कमा स्थानीय युवाहरूका लागि खेलकुद गतिविधि सञ्चालन गर्न उपयुक्त पूर्वाधार तयार गरिनेछ। खुला स्थान, हरियाली, बास्केटबल तथा अन्य खेल मैदान, रिनोभेटेड करिडोर तथा सामुदायिक उपयोगका संरचनाहरू निर्माण गर्ने योजना रहेको बताइन्छ।
मेयर शाहले सार्वजनिक सम्पत्ति सर्वसाधारणले प्रयोग गर्न पाउनुपर्ने बताउँदै अतिक्रमित जग्गा फिर्ता गर्ने अभियान अझै जारी रहने उल्लेख गरे।