काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राजनीतिक दलहरूको नियमित गतिविधिमा अवरोध सिर्जना गर्दै दलहरूमाथि ‘नियतविपरीतको परीक्षण’ गरिरहेको आरोप लगाएका छन् ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पार्टी प्रतिनिधिहरूसहित बैठकबाट बाहिरिँदै गरेका ज्ञवालीले वर्तमान सरकारको कदम लोकतान्त्रिक अभ्यासविपरीत रहेको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीले आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफलका लागि राजनीतिक दलहरूलाई आमन्त्रित गरे पनि एमाले टोली छलफल कै बीचमा बाहिरिएको थियो ।
ज्ञवालीले अहिलेको सरकारलाई “पूर्णतः असंवैधानिक” भन्दै सरकारको गतिविधिले लोकतान्त्रिक अधिकार र शान्तिपूर्ण राजनीतिक अभ्यासमै खलल पुगेको जिकिर गरे । उनका अनुसार, सरकार दलहरूको सहनशीलता कति छ भन्ने बुझ्न उन्मुख छ।
उनले भने, 'दलहरूलाई कति चुनौती दिन सकिन्छ, शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने परीक्षण सरकारले गरिरहेको छ। यदि यो परीक्षण सफल भयो भने चुनाव त टाढाको कुरा हो, दलहरू आफ्नो नियमित छलफल र गतिविधि गर्न नपाउने स्थिति बन्छ।'