काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११औँ राष्ट्रिय महाधिवेशनमा देखिएको उत्साहजनक सहभागिताले मतदानमार्फत नेतृत्व छनोट गर्ने प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभई समग्र राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण सन्देश दिएको बताएका छन् ।
अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ज्ञवालीले यस्तो बताएका हुन् । उनले पछिल्ला राजनीतिक घटनाक्रमपछि मूलधारका राजनीतिक दलहरूको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्यलाई एमालेले व्यवहारबाटै खण्डन गरेको उल्लेख गरे ।
उनले लेखेका छन्, 'भदौको अन्तिम साताका घटनाक्रम पश्चात् मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर निर्माण गरिएको भाष्यलाई मङ्सिर २७ गते सल्लाघारीमा उपस्थित विशाल जनसहभागिताले खण्डन गर्यो। साथै, नेतृत्व निर्माणका लागि भएको स्वस्थ र सौहार्दपूर्ण प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ।'
महाधिवेशनमा देखिएको उच्च सहभागिता र लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीभित्र मात्र सीमित नभई देशको राजनीतिमा नै सकारात्मक प्रभाव पार्ने विश्वास ज्ञवालीले व्यक्त गरेका छन्।
'यी दुवै पक्षको सकारात्मक प्रभाव एमालेभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्नेछ,' उनले भनेका छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हिजो बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान सम्पन्न भएको हो।
कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेसँगै महाधिवेशनको मतदान प्रक्रिया टुङ्गिएको छ।