Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेको सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेको सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाउँदै पार्टीको सर्वोच्च निकाय महाधिवेशनका निर्णयलाई अन्तिम नमान्ने हो भने एमाले ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरण हुने चेतावनी दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले महाधिवेशन सकिएलगत्तै भएका केही गतिविधिले आफूलाई दुःखित बनाएको उल्लेख गरेका हुन् । 'हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो' भन्दै उनले महाधिवेशनपछि केही नेताहरूले गरेको छुट्टै भेला अपेक्षित नभएको बताए।

उनका अनुसार एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको मुख्य उद्देश्य नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको उत्तर दिनु थियो। महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको उनको भनाइ छ।

महाधिवेशनअघि उठाइएका विषय बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ को बाटोमा हिँड्दा पार्टी अघि नबढ्ने ज्ञवालीको टिप्पणी छ।

'तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर्‍याएका छौं,' उनले लेखेका छन्, 'तर लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा अझै बाँकी नै छ।'

उनले अब पार्टीको सम्पूर्ण ऊर्जा यिनै लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। महाधिवेशनपछिको आन्तरिक विवादले मुख्य राजनीतिक एजेन्डाबाट ध्यान विचलित हुन नहुने उनको भनाइ छ।

त्यसैगरी, ज्ञवालीले पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएकोप्रति पनि आश्चर्य व्यक्त गरेका छन्। 'पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो,' उनले लेखेका छन्, 'आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077