काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन ‘खडेरीको दुबो जस्तै फेरि मौलाउने’ बताएका छन् ।
नेकपा एमालेका नेता ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको ७७औँ अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनले इतिहासभरि धक्का, विभाजन र विरोधाभास झेले पनि प्रत्येक पटक पुनर्जीवित हुँदै आएको उल्लेख गरेका हुन् ।
उनले पछिल्लो वर्ष कम्युनिस्ट आन्दोलनका लागि चुनौतीपूर्ण रहेको स्वीकार गर्दै केही व्यक्तिले यसै आधारमा आन्दोलन समाप्त भएको घोषणा गरेको टिप्पणी गरे ।
तर यस्तो निष्कर्षलाई उनले अस्वीकार गर्दै विचारधारा र इतिहासको अन्त्यको बहसलाई उद्धृत गरे ।
'विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फ्रान्सिस फुकुयामा नै आज आफ्ना भविष्यवाणीप्रति पछुताइरहेका छन्,' उनले लेखेका छन्, 'हाम्रा ‘फुकुयामा’ हरूका भविष्यवाणी पनि व्यर्थ सावित हुनेछन्।'
ज्ञवालीका अनुसार कम्युनिस्ट आन्दोलन कुनै व्यक्तिको इच्छाबाट होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताबाट निर्देशित हुन्छ। त्यसैले यसको भविष्य पनि त्यही आधारमा तय हुने उनले स्पष्ट पारे।
उनले वर्तमान चुनौतीलाई सामान्य रूपमा लिन नहुने चेतावनी दिँदै गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको आवश्यकता औँल्याए।
'वर्तमानका धक्का र चुनौतीले हामीबाट निर्मम आत्मसमीक्षा, संरचनागत पुनर्संरचना र नयाँ डाइनामिक्स बुझ्ने क्षमता माग गरिरहेको छ,' उनले भने।
स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी ऐतिहासिक जिम्मेवारी पूरा गर्ने संकल्पका रूपमा लिनुपर्नेमा जोड दिँदै ज्ञवालीले आन्दोलनलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाउने प्रतिबद्धता जनाएका छन्।