काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेले बारामा नेकपा एमालेका नेताहरु जाने कार्यक्रममा रोक लगाइएकोप्रति आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सरकारको आवश्यक ध्यानाकर्षण समेत माग गरेको छ ।
प्रवक्ता मनिष झाले कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्ने पार्टी निष्कर्ष रहेको जानकारी गराएका छन् ।
रास्वपा बैठकको निष्कर्षबारे जानकारी गराउँदै झाले भनेका छन्- 'निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ । आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ ।'
एमालेनिकट युवा संघले बारामा आयोजना गरेको कार्यक्रममा सहभागि हुन महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेताहरु त्यसतर्फ जाँदै थिए । तर जेनजी समूहले सिमरा विमानस्थलमा तोडफोड र नाराबाजी गरेपछि नेताहरु विमानस्थलबाटै फर्किएका थिए ।
त्यसबारे आपत्ति जनाउँदै रास्वपाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रममा जान पाउनुपर्ने जनाएको हो । रास्वपा बैठक अहिले जारी छ ।