काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा तय भएको निर्वाचनलाई सफल बनाउन प्रत्येक नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउनु लोकतान्त्रिक जिम्मेवारी भएको बताएका छन् ।
सचिवालयबाट सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले निर्वाचन लोकतन्त्रको आधारशिला भएकाले मताधिकार प्रयोग गर्ने अवसर कसैले पनि गुमाउन नहुने सन्देश दिएका हुन् ।
मन्त्री अर्यालले वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई निकाल्दै सुशासन कायम गर्ने लक्ष्यसहित समयमै निर्वाचन सम्पन्न गर्ने स्पष्ट म्यान्डेट लिएर अघि बढिरहेको उल्लेख गरे । उनका अनुसार निर्वाचनलाई व्यवस्थित, पारदर्शी र समावेशी बनाउने प्रारम्भिक तथा मुख्य चरण नै मतदाता नामावली दर्ता हो ।
उनले भने, 'निर्वाचन लोकतन्त्रको आधारशिला हो। सरकार कानुनी अव्यवस्थाबीच पनि देशलाई सम्हाल्दै तोकिएको समयमा निर्वाचन गर्ने दायित्वमा छ। सबैको मताधिकार सुनिश्चित गराउने मूल आधार भनेको मतदाता नामावलीमा नाम दर्ता गर्नु हो।'
मन्त्री अर्यालका अनुसार राष्ट्रिय परिचयपत्र विवरण उपलब्ध गराएका नागरिकले अनलाइनमार्फत सजिलै नाम दर्ता गर्न सक्नेछन्। बाँकी अन्य नागरिकका लागि चुनाव आयोगका कार्यालयमा गएर पनि नाम दर्ता प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ।
सरकारले नाम दर्ताको समय मंसिर ५ गतेसम्म थपिसकेको जानकारी दिँदै उनले 'अवसरबाट कोही पनि नछुटियोस्' भन्दै सर्वसाधारणलाई सक्दो चाँडो नाम दर्ता गराउन सार्वजनिक अपिल गरेका छन्।