काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
उक्त भेटमा स्थानीय सरकारका प्रमुखहरूले आगामी प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आफूहरू पूर्ण रूपमा सहयोगी रहने प्रतिबद्धता जनाएका छन् ।
उपत्यकाका तीन जिल्लाका मेयरहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सुचारु रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै आवश्यक समन्वयका लागि आफूहरू तयार रहेको बताएका थिए। भेटका क्रममा स्थानीय तह प्रमुखहरूले आफ्ना क्षेत्रका प्रमुख समस्या तथा चुनौतीबारे पनि प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित हुनु अघि देखिका बक्यौता रकम अझै नटुंगिएको उल्लेख गर्दै त्यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
यस्तै, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा संवेदनशीलताका कारण स्थानीय तहका कार्यालय सञ्चालनमा आएको कठिनाइका विषयमा पनि ध्यानाकर्षण गराइएको थियो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुखले नेपाल ट्रस्टको जग्गामा रोकिएको सडक विस्तार कार्य अघि बढाइदिन प्रधानमन्त्रीसमक्ष माग राखे।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गतेका घटनामा जेनजी आन्दोलनसँग सम्बन्धित नभएका व्यक्तिहरूले घर–घरमा लुटपाट मच्चाएको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरे।
त्यसैगरी, कीर्तिपुर नगरप्रमुखले त्रिभुवन विश्वविद्यालय परिसरभित्र बसपार्क, अस्पताल तथा प्रशासनिक भवन सञ्चालनका लागि संघीय सरकारले अनुमति दिनुपर्ने माग राखे।
मेयरहरूको माग सुनेपछि प्रधानमन्त्री कार्कीले आफू अहिले निर्वाचन तयारीमा केन्द्रित रहेको उल्लेख गर्दै स्थानीय तहहरूबाट पूर्ण सहयोगको अपेक्षा व्यक्त गरिन् ।
उनले निर्वाचनलाई सहज र विश्वासिलो बनाउने प्रतिबद्धता जनाउँदै स्थानीय तहहरूको समस्या समाधानका विषयमा सरकार संवेदनशील रहेको स्पष्ट पारिन् ।