काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जस्तोसुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामथ्र्यलाई फेरी एकपटक पुनः पुष्टि भएको बताएका छन्।
बिहीबार पदभार ग्रहणपछि निर्देशन दिदै उनले असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गरे ।
असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै आईजीपी कार्कीले भने, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ ।
साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यहीनिर हुन्छ ।’
नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुव्र्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उनको भनाई थियो ।
आईजीपी कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गरिने उनको भनाई छ ।
चन्द्रकुबेर खापुङले सेवाहदका कारण अवकाश पाएपछि कार्की नेपाल प्रहरीको ३३ औं महानिरीक्षक बनेका हुन्। जेनजी आन्दोलनपछिको कठिन अवस्थामा आईजीपी बनेका कार्कीका लागि यो जिम्मेवारी चुनौती र अवसरले भरिएको छ ।
जेननी आन्दोलनपछि भौतिक र मानसिक रुपमा प्रहरी कमजोर भएकाले त्यसलाई बलियो बनाउनुपर्ने छ। अर्कोतर्फ यो कठिन अवस्थामा लडेर प्रहरीलाई नयाँ शिराबाट उठाएर बलियो बनाउने अवसर पनि उनलाई छ । साढे दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्न लागेका कार्कीका यस्ता छन् ६ मुख्य चुनौतीः
१. प्रहरीको मनोबल उकास्ने
जेनजी आन्दोलनमा तीन प्रहरी मारिए। प्रहरीका सयौं कार्यालय जलाइए । हजारौं हतियार लुटिए । यस्तो अवस्थामा प्रहरीको मनोबल यतीबेला कमजोर छ । जसकारण प्रहरीका सेवा सुविधा थपेर र सरुवा–बढुवामा निष्पक्ष निर्णय गरेर तत्काल उनले प्रहरीको मनोबल बढाउनुपर्ने हुन्छ ।
पदभार लगत्तै नीति समन्वय समिति(पिसीसी)को बैठक राखेर वरिष्ठ सईसम्मका प्रहरीलाई दुई लाख रुपैयाँसम्मको आकस्मिक सहुलियतपूर्ण अल्पकालिन कर्जा उपलब्ध गराउने निर्णय गरेर उनले यसको सुरुवात गरिसकेका छन्। अब रासनभत्ता लगायत विभेद हटाएर उनले यसको सुरुवात गर्नुपर्छ ।
२.शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने
उनी तत्कालै निर्वाचनमा केन्द्रीत भएर खटिनुपर्ने हुन्छ । २१ फागुनका लागि घोषणा भएको निर्वाचन सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण छ । किनकी कतिपय दल अझै निर्वाचनमा जान इन्कार गरिरहेका छन् । धेरै वटा नयाँ दल आएका छन्। पाँच हजार कैदी फरार छन् भने ठूलो संख्यामा प्रहरीका लुटिएका हतियार फिर्ता हुन सकेका छैनन् । यस्तो अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन गर्नका लागि प्रहरीले निकै चुस्त भएर काम गर्नुपर्ने हुन्छ । त्यसमा उनले मेहनत गर्नुपर्ने हुन्छ ।
३.प्रहरीमा राजनीतिक हस्तक्षेपमा नियन्त्रण
पछिल्लो समय प्रहरी राजनीतिक हस्तक्षेपकै कारण कमजोर हुँदै आएको छ । जेनजी आन्दोलनमा प्रहरी कमजोर हुनुको एउटा कारण पनि राजनीतिक हस्तक्षेप नै हो भन्ने प्रष्ट भइसकेको छ । अबका दिनमा प्रहरीलाई स्वायत्त बनाउन उनले पहल गर्नु जरुरी छ । खासगरी सरुवा–बढुवामा हुने हस्तक्षेप रोक्न जरुरी छ । हालको चुनावी सरकारले प्रहरीमाथि हस्तक्षेप गरेको छैन । चुनावपछि आउने सरकारले हस्तक्षेप गर्न सक्ने भएकाले थिती बसाएर आईजीपीको पदको गरिमालाई उनले फर्काउनसक्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
४.प्रहरीको सेवालाई जनअपेक्षाअनुसार बनाउने
जेनजी आन्दोलनले जनस्तरमा प्रहरीको अलोकप्रियता पनि देखाएको छ । आम सर्वसाधरण प्रहरीको सेवासँग सन्तुष्ट छैनन् । त्यसकारण प्रहरीको सेवालाई पनि सुधार गर्नुपर्ने जिम्मेवारी उनको काँधमा छ । बिहीबार दज्र्यान्ही चिन्ह लगाएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अपेक्षाअनुसार प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै प्रहरी प्रधान कार्यालयमा पनि त्यसको निर्देशन दिएका छन् । संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई दिए । आम जनताले महशुस गर्ने गरी उनले प्रहरीको कार्यशैलीमा सुधार ल्याउन जरुरी छ ।
५.ठेक्कालाई पारदर्शी बनाउने
नेपाल प्रहरीका धेरै आईजीपी खरिदको विवादमा मुछिदै आएका छन्। प्रहरी प्रधान कार्यालयले हरेक वर्ष कपडा लगायत बन्दोबस्तीका करिब एक अर्बको सामान खरिद गर्दछ । केही निश्चित समूहले यस्तो ठेक्कामा सेटिङ गर्दै आएका छन् । जसकारण ठेक्का विवादमा पर्दै आएको छ ।
दुई महिनाअघि मात्र विवादकै कारण ठेक्का रद्द नै भएको थियो । जसकारण अब ठेक्का प्रक्रियालाई पारदर्शी बनाउन जरुरी छ । अबका दिन प्रहरीले हतियार तथा भिड नियन्त्रणका सामान पनि खरिद गर्नुपर्ने भएकाले खरिद प्रक्रियामा सुधार नगरे उनी पनि विवादमा पर्नेछन् ।
६. स्रोत साधनले बलियो बनाउने
हाल स्रोत साधनको दृष्टिकोणले प्रहरी कमजोर अवस्थामा छ । हतियार मात्र होइन प्रहरीसँग पर्याप्त सञ्चारसेट र कपडा समेत छैनन् । यस्तो अवस्थामा सरकारले अझै प्रहरीका लागि बिशेष बजेट छुट्याएको छैन ।
चुनावका लागि भिड नियन्त्रणका सामान पनि पर्याप्त नभएकाले तत्कालै खरिदको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । तत्काल स्रोत साधनमा प्रहरीलाई बलियो नबनाए आगामी दिनमा आन्दोलनमा खटाउन प्रहरीलाई कठिन हुने अवस्था छ ।