काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले पटक–पटकको आग्रहलाई अटेर गरिएकाले अब सरकारले कठोर कदम चाल्ने तयारी गरेको स्पष्ट पारेका हुन् ।
उनले भने, 'कैदीबन्दीहरूलाई फिर्ता हुन बारम्बार आग्रह गरियो, हतियार बुझाउन सूचना पनि जारी गरियो, तर अझै धेरै फरार र लुटिएका सामग्री फिर्ता आएका छैनन्। अब उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्नेछ।'
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए, जसमा हालसम्म ९ हजार ५२१ जना अर्थात् ६५ प्रतिशत फिर्ता भइसकेका छन् । अझै ५ हजार १०५ जना फरार रहेको उनले जानकारी दिए ।
त्यसैगरी, आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेका र केही जलेको अवस्थामा भेटिएको उनले बताए । बाँकी हतियार फिर्ता ल्याउनु चुनौतीपूर्ण रहेको स्वीकृति पनि उनले दिएका छन् ।