Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानमाथि आक्रमण भइरहेको छ, हामी मौन रहन सक्दैनौं : केपी ओली

संविधानमाथि आक्रमण भइरहेको छ, हामी मौन रहन सक्दैनौं : केपी ओली

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले एमालेलाई 'जनताको रगत, पसिना र आँसुबाट बनेको विशाल परिवार' भन्दै सबैलाई पुनः एउटै छातामुनि आउन आग्रह गरेका हुन् ।

ओलीले लेखेका छन् —'जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ। देशको स्वाधीनता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ।'

ओलीले पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै भनेका छन् — 'आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।'

उनले एमालेलाई राष्ट्रिय स्वाधीनताको कवच र लोकतान्त्रिक आन्दोलनको अग्रपंक्तिको शक्तिका रूपमा चित्रण गर्दै पार्टीको योगदान स्मरण गराए ।

उनले लेखेका छन्, 'निर्दयी निरंकुशता हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा एमाले सधैं नेतृत्वदायी भूमिकामा रह्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी हो। लोककल्याणकारी राज्यको सुरुवात, सामाजिक सुरक्षाका कार्यक्रम र विकासका संरचना निर्माणको नेतृत्व पनि यही पार्टीले गरेको हो।'

ओलीले तीन पुस्ताले एमालेलाई उभ्याउन गरेको बलिदानप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन् — 'यो पार्टी कसैले दया गरेर होइन, जनताको त्याग र बलिदानले बनेको हो। कसैले जेल यातना भोगे, कतिले जीवन बलिदान गरे, कतिले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे। यही योगदानले यो घरलाई अड्याएको हो।'

उनले हाल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बढ्दो वाम एकताको बहसबीच आफ्नो सन्देश सार्वजनिक गर्दै एमालेभित्रका पुराना सहकर्मी र कार्यकर्तालाई पुनः भित्र्याउने संकेत दिएका छन्।

ओलीले अन्त्यमा सबैमा आव्हान गरे — 'हामी एउटै परिवार हौं। हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली। कोही अलमलमा नपर्नुस्, आउनुस् आफ्नै घरमा, हाम्रो साझा सपना साकार पार्न। निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077