काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
आज पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट दायर गरिएको हो ।
उक्त रिट अधिवक्ता प्रेमराज सिलवालले दायर गरेका हुन् ।
जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले असोज १३ गते उनीहरूको विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरेको थियो।
त्यस्तै, आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरेको थियो ।
मंगलबार (आज) बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको उक्त निर्णय गैरकानुनी भएको, सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको भन्दै सर्वोच्चमा रिट पेस गरेका हुन्।