काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको भक्तपुरको बालकोटस्थित घरको अवलोकन गर्दै वर्तमान सरकारको कडा आलोचना गरेका छन् ।
ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको बताएका छन् ।
निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने- 'मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सिमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन । जेनजी भनिएकालाई बोलाएर दबाब देऊ भनेर भनेका छन् । सिकाएर पठाउनुहुन्छ । उहाँहरु निवेदन देऊ, जाहेरी देऊ भनेर सिकाएर पठाउनुभएको छ । आगामी दिनमा हेर्दै जाऊँ । यो देशमा एमाले छ । एमाले ज्युँदो पार्टी छ । भ्रष्टाचार नियन्त्रण गर्छ । अचानक पलाएका आफ्नो काम छाडेर अर्कोतिर रमाएकासँग एमालेले सम्झौता गर्दैन ।'
आफूहरूले सरकारको नाममा दिइसकेको घरसहितको सार्वजनिक सम्पत्ति जलाइएको भन्दै ओलीले अचानक पलाएको अहिलेको सरकारसँग नडराउने बताएका छन्।