काठमाडौं। सम्पत्ति शुद्धीकरणमा नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि पार्टीभित्र हलचल मच्चिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको आन्तरिम सरकारले प्रचण्ड र उनकी पुत्री गंगा दाहाल तथा ज्वाई जीवन आचार्यमाथि छानविनको तयारी गरेको हो ।
सरकारको उक्त कदमबाट आत्तिएका प्रचण्डले नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई प्रधानमन्त्री भेटन पठाएर अनुसन्धान रोक्न दबाब दिएको स्रोतको दावी छ ।
शुक्रबार प्रधानमन्त्री कार्कीसँगको वार्तामा सहभागी भएका अनन्तले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा त्यसबारे मुखै खोलेका थिए ।
कार्यक्रममा उनले भनेका थिए–‘२३ गते त्यत्रा दर्जनौं नानीहरुको हत्या गर्नेहरुलाई केही नगर्ने, सत्तामा गएर हालीमुहाली गर्ने विचौलियाहरुलाई केही नगर्ने अनि प्रचण्ड कमरेडतिर गएर तर्साउन खोज्ने ?’
प्रचण्डले श्रेष्ठ र पुनमार्फत प्रधानमन्त्री कार्कीलाई ‘हामी कांग्रेस–एमालेभन्दा फरक हौं, हामी चुनावमा जान खोजिरहेका छौं, तपाईंहरुलाई सहयोग नै गरिरहेका छौं तर हामीलाई जर्बजस्ती कांग्रेस–एमालेतिर धकेल्न खोजियो’ भन्दै सन्देश पठाएको बुझिएको छ ।
कार्यक्रममा पुनले माओवादीका नेताहरुमाथि अनवश्यक दुःख दिने र तर्साउने काम भए त्यसलाई स्वीकार नगर्ने भन्दै सरकारको प्रवृत्तिमाथि प्रश्न उठाएका थिए ।
माओवादी शान्ति, लोकतन्त्र र आजको भन्दा प्रगति चाहने पार्टी भएको भन्दै उनले माओवादीलाई हेप्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए ।
जेनजी आन्दोलनको एउटा मुख्य माग पटक–पटक प्रधानमन्त्री भएका तीन शीर्ष नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने पनि थियो । सोहीअनुसार सम्पत्ति शुद्धीकरण बिभागले अनुसन्धान थालेको छ ।
प्रचण्ड परिवारले विलासी जीवन बिताएको, परिवारका नाममा सम्पत्ति थुपारेको भन्दै आलोचना हुँदै आएको छ ।
जेनजीहरुले ‘नेपो बेबी’ भन्दै चलाएको अभियानमा प्रचण्डपुत्री गंगा दाहाल मुख्य तारो बनेकी थिइन् । दाहालले महँगो मूल्य पर्ने रोलेक्स ब्राण्डको घडी र गुची ब्राण्डको झोला बोकेको भन्दै त्यसको आयश्रोत खोजेर विरोध गरिएको थियो ।
त्यसैगरी प्रचण्ड प्रधानमन्त्री हुँदा ठूलला ठेक्कापट्टामा हालीमुहाली गरेको भन्दै जेनजीहरुले गंगाका पति जीवन आचार्य माथि पनि अनुसन्धान हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।