काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुईदुईपटक विघटन गरेको प्रतिनिधि सभा अहिले पुनस्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन् ।
ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य सिंहले यस्तो बताएका हुन् ।
उनले भनेका छन्- 'दुईदुई पटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।'
बैठकमा दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले चुनाव बहिष्कार गर्दा अर्को भिडन्त निम्तिने चेतावनी समेत दिएका छन्।
उनले भनेका छन्- 'वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।'
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्।
यसैगरी उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन पनि माग गरेका छन्।
यस्तो छन् सिंहले बैठकमा राखेका १० सुझाव
१.भदौ २२ गतेको जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेकोू राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होलारु हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन्। नेतृत्वले के सुन्न रुचाउँछन्, त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ।
२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौँ।
३. २४ गतेको विध्वंस, २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।
४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ। त्यसको छानबिन गरेर कारबाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्नेरु
५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।
६. युवा विद्यार्थी र आम जनता स्वतस्स्फूर्तरूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति होरु कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छरु यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ।
७. जनसंगठनहरू कसरी चल्दैछन् भन्ने एउटा उदाहरण- टंक कार्की देखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामीरु
८. ४ वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४-५ जनाबाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।
९. दुईदुईपटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।
१०. विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।
अरबिन्द सिंह, केन्द्रीय सदस्य, वीरगन्ज