काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बिहीबार जारी बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरूले ओलीलाई अध्यक्ष पदमा राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न सुझाव दिनुका साथै एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले अध्यक्ष ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरण हुनुपर्ने सुझाव दिए । मानन्धरले पार्टी जनतासँग एकाकार हुन नसकेको भन्दै नेतृत्व परिवर्तनको गर्नुपर्ने आवश्यकता औल्याए ।
‘जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ, तर अध्यक्ष कमरेड आजसम्म त्यसमा सफल देखिनुभएको छैन, देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट जोगाउन उहाँले सहयात्री कमरेडहरूमाथि विश्वास गर्दै राजीनामा दिनु आवश्यक छ,’ मानन्धरले भने, ‘सामूहिक नेतृत्वको अभ्यास आजको ऐतिहासिक आवश्यकता बनिसकेको छ, अब ढिला गर्नुहुँदैन, पार्टीलाई थप क्षति हुनबाट सबै मिलेर जोगाऔं ।’ राजधानी दैनिकबाट