काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगलाई कुनै हालतमा नछाड्ने बताएकी छिन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गरेकी हुन् ।
कार्कीले भनिन्- 'ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन, ‘यिनीहरू सुनका घडी लगाएर हिँड्छन्, महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं। जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ।'
सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्रीले भनिन् अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ । हामीले नगरे कसले गर्ने रु यही सरकारले गर्छ । पीडितचाहिँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्योचाहिँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुनु हुँदैन । यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ।
उनले ठगहरू महँगा गाडीमा घुम्ने र ऐशोआरामको जीवन बिताउने तर पीडितहरू सडकमा रोइरहने अवस्थालाई अस्वीकार्य भन्दै कानुनमै आवश्यक परे संशोधन गर्नुपर्ने धारणा राखिन्।
उनले यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्न, भ्रष्टाचारमा कारबाही गर्न र सहकारी समस्या समाधान गर्न आएको बताएकी छिन् ।