काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ ।
आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उदेश्यले बिहीबार कान्तिपथस्थित आयोगकै सभाकक्षमा छलफल आयोजना गरिएको हो।
छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कवीन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले संसद्को पुनः स्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् । अन्य दलहरू भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनाइएको थियो ।
उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्।
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल गर्न भनिएको छ ।